काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।
सिंहदरबारमा आयोजित बोर्डको चौथो पूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराएका छन् । ’विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न’, मन्त्री गुरुङले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ भन्दै मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन समेत आग्रह गरेका छन् । साथै बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णयसँगै राष्ट्रिय नीति बनाउँदा सरोकार निकायसँग बृहत् छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिएका छन् ।
स्मरण रहोस् सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलोपटक विज्ञापन बोर्ड गठन गरिएको हो ।
