इटहरी । चैतदेखि तलब नपाएका शिक्षकको यस वर्षको दसँै खल्लो हुने भएको छ । इटहरीमा नाम कहलिएको स्कुल तथा कलेजले पनि शिक्षकलाई तलब दिएका छैनन् । दसँैको मुखमा पनि तलब नपाएका शिक्षक सञ्चालकसँग रुष्ट भएका छन् ।
सात महिनादेखि तलब नपाएर जीवन चलाउन मुस्किल परेका निजी विद्यालयका शिक्षकको यो वर्षको दसँै अरू पेसा गर्नेको भन्दा खल्लो हुने भएको छ । चैतदेखि बन्द विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा पनि तलब नदिएको आरोप शिक्षकहरूको छ । अभिभावकले शुल्क नदिएका कारण विद्यालय सञ्चालन गर्नै मुस्किल परेको विद्यालय सञ्चालकले जिकिर गरिरहेका छन् ।
निजी विद्यालय शिक्षक राम गौतमले विद्यालयले तलब नदिँदा आफूहरूको बिजोक भएको बताए । ‘मैले वैशाखदेखि तलब पाएको छैन, घरखर्च पनि चलाउन धौधौ भयो’, गौतमले भने । इटहरीमा मात्र करिब ३ हजार शिक्षकले तलब नपाएर समस्यामा परेको उनले बताए ।
दसैंको मुखमा पनि तलब नदिए इटहरीमा करिब ३ हजार शिक्षक कर्मचारीको मात्र होइन, उनीहरूको परिवारको समेत बिचल्ली हुने गौतम बताउँछन् । अहिलेसम्म तलब नपाउँदा आफूहरू समस्यामा पर्दै आएको उनको गुनासो छ । गौतम भन्छन्, ‘हामी सबैभन्दा पीडित भयौँ ।’ इटहरीमा नाम चलेका र करोडौ कमाएका विद्यालयले समेत शिक्षकलाई तलब दिएका छैनन् । इटहरीका एक शिक्षकले नाम नखुलाउने सर्तमा भने दसैँको मुखमा पनि हामीले तलब पाएनौँ । उनले थपे, ‘वैशाखदेखिको तलब नपाउनु दुःखद हो ।’ अनलाइन कक्षाको नाममा सञ्चालकले विद्यार्थीबाट शुल्क उठाइरहे पनि आफूहरूलाई तलब नदिएको उनको गुनासो छ ।
दसैंमा शिक्षकले कालोमुख लगाउनुपरेपछि दसैंपछि विद्यालयमा अनलाइन कक्षा गर्ने वा नगर्ने विषयमा सोच्नुपर्ने अवस्था आउने चेतावनी शिक्षकहरूले दिएका छन् । दसैँअगाडि थोरै तलब दिने आश्वासन पाए पनि तलब नपाउँदा समस्या भइरहेको ती शिक्षकको गुनासो छ । ठूला विद्यालयले मनपरी शुल्क उठाए पनि शिक्षक–कर्मचारीलाई तलब नदिएको बताउँदै इटहरीका नाम चलेका एक शिक्षकले भने, ‘त्यस्तो स्कुललाई अनुगमन गरी स्थानीय तहले नै कारबाही गर्नुपर्छ ।’ प्याब्सन इटहरीको कार्यवाहक अध्यक्ष राजकुमार सापकोटाले अनलाइन पढाउने शिक्षकहरूले तलब दिइरहेको बताए । अनलाइन पनि नपढाउने अनि तलब माग्ने शिक्षकलाई कसरी तलब दिनु ? उनले भने, ‘कामै नगरी राजनीति गर्नेलाई स्कुलले कसरी तलब दिन सक्छ ?’ पढाइरहेका शिक्षकले तलब नपाएको भए तत्काल तलब दिलाउने विषयमा पहल गरिने अध्यक्ष सापकोटाले बताए । इटहरीमा बग्रेल्ती रूपमा निजी स्कुल, मण्टेश्वरीहरू खुल्ने क्रम बढेको छ । इटहरी उपमहानगरमा १२५ वटा स्कुल दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS