काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । सात महिनाको बन्दाबन्दी अवस्थाबाट पनि कोरोना नियन्त्रण हुनुको साटो झन वृद्धि भएपछि स्थिति भयावह हुने संकेत देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि पनि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले आकस्मिक बाहेकका बिरामीको अपरेशन नगर्ने निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने मन्त्रालयको अपेक्षा छ ।
यो निर्णयसँगै अबको केही समय अन्य विरामीले अस्पतालको बेड नपाउने अवस्था सिर्जना भएको छ । जाडो मौसममा कोरोनाको प्रकोप बढ्ने अनुमान गरिएको छ । यदि यो अनुमान सही ठहरियो भने आगामी फाल्गुनसम्म अन्य विरामीले सरकारी अस्पतालको सेवा नपाउने निश्चित भएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने सुझाव दिएका छन् ।
भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताएका छन् । काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकाले स्थिति नियन्त्रण बाहिर गइसकेको मरासिनीले बताएका छन् । सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उनले स्पस्ट पारेका छन् ।
नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको दावी गरेका छन् । सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS