काठमाडौं । कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेको छ ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले धान्न सक्ने खालका प्रविधिहरुलाई बढावा दिन जोड दिइएको छ । स्वदेश फर्केका आप्रवासी नेपालीलाई खाद्य उत्पादन क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने संघको सुझाव छ । बिउ बैंक तथा प्रविधि प्रयोग गरी रैथाने जातका अन्न, घरपालुवा जनावर तथा फलफुलको संरक्षण गर्न आह्वान गरिएको छ ।
कृषिसँगै औद्योगिक क्षेत्र, पूर्वाधार, उर्जा तथा सूचना प्रविधि क्षेत्रमा गैरआवासीयहरुले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । एनआरएनएले राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, श्रमिक बैंक तथा ब्रेन गेन सेन्टरसँग तत्काल सहकार्य सुरु गर्ने जनाएको छ । सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने संघले तयारी गरेको छ ।
संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकासका लक्ष प्राप्त गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज, गैरआवासीय नेपाली समुदाय समेतको सामूहिक प्रयास आवश्यक भएको गैरआवासीय नेपालीहरुले निष्कर्ष निकालेका छन् ।
त्यसैगरी कोभिड १९ महामारीले खाडी लगायत अन्य मुलुकमा नेपाली श्रमिकहरुले व्यहोर्नु परिरहेको समस्यासँग जुध्न सरकार तयार नभएको निष्कर्ष निकालेको छ । त्यस्तै नयाँ गन्तव्य मुलुकहरुको पहिचान गर्ने र नेपाल फर्केपछि पनि बेरोजगार समस्या अन्त्य गर्न आप्रवासी श्रमिकको सीप विकासमा ध्यान दिन संघले भनेको छ ।
त्यसकालागि विद्यमान तथा भविष्यका प्रकोपहरुसँग जुध्न स्थायी प्रकृतिको उच्चस्तरीय प्रकोप व्यवस्थापन ढांचा तथा न्यूनीकरण कोष बनाउन जोड दिइएको छ । नेपालमै रहेका उद्यमी तथा नेपाल फर्केका व्यवसायीहरुले स्टार्ट अप सुरु गर्न तथा आफ्नो आविष्कारलाई बजारीकरण गर्न अवसर खोजि गर्नुपर्ने र नवप्रवर्तन तथा बजारीकरणलाई सघाउन पनि सरकार तथा एनआरएनए मिलेर एउटा कोष खडा गर्नुपर्ने पनि संघको सुझाव छ । त्यसकालागि बजारीकारण सम्बन्धी प्रयास तथा मुनाफा कमाउन गरिने नवप्रवर्तनका लागि एनआरएनएले निजी क्षेत्रसँग पनि सहकार्य गर्ने बताइएको छ ।
त्यस्तै कोभिड १९ भन्दा पहिलेको आर्थिक वृद्धिको स्तरमा पुग्न र नेपालले चाहेको दुई अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक लगानीमा जोड दिइएको छ । वित्तीय प्रविधि (इन टेकको गति संगसंगै हिंड्न वित्तीय नीतिहरुलाई पुनरावलोकन गर्न जोड दिइएको छ । संघले दीगो विकास लक्ष्य प्राप्त गन डिजिटलाइजेसनको महत्वपूर्ण भूमिका हुने भएकाले साइबर अपराधसँग जुध्न ‘एकीकृत राष्ट्रिय अनुसन्धान तथा कारवाही केन्द्र’ गठन गर्न सुझाइएको छ । नेपाल र नेपालीको भविष्यप्रति चिन्तित रहेको संघले सार्थक परिवर्तनका लागि अनुसन्धान तथा विकासको क्षेत्रमा लगानी बढाउन पनि उनीहरुले सरकारसँग आग्रह गरेको छ । नेपालमा सफल स्मार्ट ग्रिड कार्यक्रम लागू गर्न नीति, नियामक संस्था, उद्योग, संस्थागत तथा स्तरीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिन भनिएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा जान सकिने सम्भावनाहरुको खोजी गर्न पनि सुझाव दिइएको छ । दीगो सहरी विकासका लागि सुशासन र योजनाका संयन्त्र तथा औजार विकास गरी अघि बढ्न विज्ञहरुले सुझाव दिंंदै संघले कोभिड १९ सँग जुध्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले श्रोत, साधन र आवश्यक जनशक्ति उपलब्ध गराउन गैरआवसीहरुले सरकारलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS