मुलुक विश्वव्यापी कोरोना महामारीको संकटमा गुज्रिएको छ । बन्दाबन्दीको पहिलो चरण केही खुकुलो भएलगत्तै दोस्रो चरणको बन्दाबन्दी व्यहोर्नु प¥यो । देशका कुनै पनि जिल्ला यो महामारीबाट जोगिएको छैन । उद्योगधन्दा कलकारखाना बन्दप्रायः छन् । व्यापार अर्थतन्त्र लगभग ध्वस्तप्रायः भइसकेको यो अवस्थामा कृषि उत्पादनमा आधारित अर्थतन्त्रसमेत भण्डारण र बजार अभावमा थला परेका छन् । जसोतसो चलेका उद्योगसमेत सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा छन् । यस परिप्रेक्षमा दुग्ध सहकारी क्षेत्रमा परेको असरबारे अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि. केशरबागका अध्यक्ष ऋषिराम चापागाईंसँग गरेको कुराकानी ः
० यो संस्थाको स्थापना र उद्देश्यबारे केही बताइदिनुस् न !
– अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि भरतपुर ६ केशरबाग चितवनको अध्यक्षको हैसियतले यस संस्थाको मुख्य उद्देश्य भन्नु नै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा परिभाषित तथा पारित सिद्धान्त र उद्देश्य नै हुन् । मूलभूत रूपमा सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, स्वैच्छिक तथा खुला सदस्यता, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, सहकारीबीच सहयोग, समुदायप्रति चासोसँगै शिक्षा, तालिम र सूचना सिद्धान्तहरूमा आधारित रहेर प्रारम्भिक संस्थाको रूपमा यस संस्थाको सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतिक तथा शैक्षिक विकासका लागि संस्थामा संलग्न सदस्यहरूले उत्पादन गर्ने दूध, पशु दाना बनाउन प्रयोग हुने अन्नका उप–उत्पादन चोकर, ढुटो, पिना, मकै, गहुँ आदि खरिद गरिदिने र दुग्धजन्य, पशु आहारजन्य उद्योगहरू यसै संस्थाद्वारा स्थापना गर्दै एकाधिकार बजार, व्यापारिक शोषणलाई अन्त्य गर्ने, उन्नत पशुपालन, उन्नत पशुआहार व्यवस्थापन कृषि तथा पशु औषधि र उपचारसँगै कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी राष्ट्रको गार्हस्थ उत्पादनमा सघाउ पु¥याउने उद्देश्य रहेका छन् । सदस्यहरूलाई संस्थाद्वारा सञ्चालित बचतबाट उन्नत पशुपालन व्यवसायलाई व्यवसायीकरण गर्न उन्नत जातका गाई, भँैसी खरिद, आधुनिक गोठ निर्माण गर्न तथा विभिन्न कृषि तथा पशुपालन प्रविधिका लागि ऋण प्रवाह गर्ने, संस्थाले दुग्धजन्य पदार्थ, पशुआहार, पशुऔषधि, कृषि सामग्री उत्पादन, संकलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्य छन् । यस संस्थाको भौतिक तथा क्षमता वृद्धिका लागि बैंक तथा वित्तीय संस्थासँग ऋण लिने र संस्थागत कृषकको जीवनस्तर वृद्धिका लागि लगानी गर्ने, पशुनश्ल सुधार, उन्नत जातका गाई स्रोतकेन्द्र सञ्चालन र नमुना प्रदर्शन गर्ने, पशुपालनमा पशुधन क्षतिमा पशुधन बिमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गरी क्षतिपूर्तिको आवश्यक व्यवस्थापन गर्ने तथा समायनुकूल संस्थाको विनियम तथा कार्यविधि, विषयगत र क्षेत्रगत कार्यविधि र निर्देशिका बनाई यिनीहरूलाई प्रचलित कानुन ऐन, नियम, नियमावलीसँग मिल्ने बनाउँदै र उत्कृष्ट सहकारी सञ्चालन गर्ने उद्देश्य छन् ।
० के–कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ?
– २०४१ सालबाट दूध संकलन केन्द्र, दूध उत्पादक समूह हँुदै सहकारी ऐन २०४८ को प्रस्तावना, दफा ५ बमोजिम सहकारी विभागमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको नाममा विनियम बनी दर्ता भई ०७७ सालसम्म आइपुग्दा यस संस्थाले कृषि तथा पशुपालन क्षेत्रमा क्रियाशील हँुदै अगाडि बढेको छ ।
यो संस्थाले मूलतः आफ्ना करिब ६ सय ५० जना सेयर सदस्य तथा कृषकबाट उत्पादित दूध संकलन गर्ने, आफ्नै अन्नपूर्ण गाई स्रोतकेन्द्र सञ्चालन गरी त्यहाँबाट उन्नत गाईका बाच्छी, गाई उत्पादन गर्दै तिनीहरूबाट दुग्ध आफ्नै संस्थाको संकलन केन्द्रमा ल्याउने उन्नत गाई स्रोतकेन्द्र सञ्चालन गरी यहाँ स्थानीय रोजगारी दिने, देशका विभिन्न प्रदेश, जिल्लामा उन्नत जातका दुधालु गाई खोज्ने कृषकलाई उचित मूल्य लिएर बिक्री गर्ने, पशुनश्ल सुधारका लागि अन्नपूर्ण गाई स्रोतकेन्द्र एवं व्यावसायिक पशुपालक कृषकका फर्मलाई विकास गर्दै लैजाने स्थानीय, प्रादेशिक तथा राष्ट्रिय रूपमा नमुना गाई स्रोत केन्द्रको विकास गरी कृषि तथा पशुपालन व्यवसायका लागि पशुपालन अध्ययन अवलोकन पर्यटन क्षेत्रको विकास गरी नेपाली जागरुक र केही त गराँै आफ्नै माटोमा, जन्म भूमिमा भन्ने कृषकलाई प्रशिक्षित गर्दै नमुना प्रदर्शन गर्ने संस्थामा संकलित दूधलाई दुग्धजन्य उद्योग स्थापना गरी दुग्धजन्य उत्पादन होमोजिनाइज र पाश्चराइजयुक्त दूध दहीका आधा लिटरका प्याकेट तयार गरी आफ्नै निजी ढुवानीका साधन भाडामा लिई चितवन, गोर्खा, तनहुँ, मकवानपुरको पूर्वी भाग, धादिङको पश्चिमी भाग, पर्वत, लमजुङसम्म बजार विस्तार गरी दुग्धजन्य पदार्थको बजारीकरण गरिएको छ । यसले स्थानीय स्तरमा रोजगारीसँगै उन्नत जातका गाई, भैंसी पालन व्यवसायलाई व्यवसायीकरणमा विकास गर्दै लगेको छ । कृषकले आफ्नो कञ्चा दूधको मूल्य राम्रो पाएका छन् । संस्थाले आवश्यकताअनुसार बिक्री डिपो सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्ना कृषकलाई दुधालु गाई, भैंसीका लागि प्रतिघण्टा १ टन क्षमताको दाना उद्योग सञ्चालन गरी अन्नपूर्ण दाना उद्योग सञ्चालन गरिरहेको छ । आफ्ना ६५० भन्दा बढी कृषकलाई १५ दिनका लागि आवश्यक पशुआहार तथा औषधि उधारो उपलब्ध गराउँदै आएको छ । दूधको १५÷१५ दिनमा भुक्तानी सन्तुलन मिलाएकोे छ । करिब ७०५ कृषकलाई आफ्नै सदस्य र ३०५ बाहिरी जिल्लामा बिक्री गर्दै आइरहेको छ । ०७७÷७८ बाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश, हेटौंडाबाट ५०५ लागत साझेदारीमा (मन्त्रालयबाट १ करोड र संस्थाबाट १ करोड ४६ लाख गरी २ करोड ४६ लाख) पशुआहार उद्योग निर्माण सम्पन्नको नजिक पुगेको उद्योगबाट प्रतिघण्टा ५ टन क्षमताको दाना उद्योग स्थापना गरी सुचारु गर्ने तरखरमा छौँ । जसको उत्पादन सुरु भइसकेपछि बागमती प्रदेश एवं नेपालभरि पशुदानाको गुणस्तरीय दाना बिक्री व्यवस्थापन मिलाउने लक्ष्य छ । आन्तरिक खपत ७०५ लाई ३०५ मा र बाह्य खपत ३०५ लाई ७०५ मा बदल्ने लक्ष्य छ । त्यससँगै नमुना गाई फर्म आफ्नो संस्थाको जमिनमा निर्माण सम्पन्न भई जसमा भरतपुर महानगरको ५०५ लागत साझेदारीमा (भरतपुर महानगरको ३० लाख र संस्थाको ३० लाख) निर्माण सम्पन्न भई सुरु गर्ने चरण प्रवेश गरेको छ । यस नमुना फर्मको विकासले स्थानीय तथा अवलोकन गर्न आउने कृषक तथा विशेषज्ञका लागि एउटा ज्ञानको पुस्तक पढेभन्दा बढी ज्ञान दिनेगरी आफ्नै सेयर सदस्य तथा अवलोकनकर्ताले उन्नत गाईको महत्व, दूध तथा पशुआहारको महत्व, गाई, भैंसी पालनका लागि आधुनिक गोठ निर्माण तरिका पशुआहार व्यवस्थापन, औषधि व्यवस्थापन, पशु प्राविधिकसँगै रोजगार वृद्धिलगायत घरपरिवार, समाज र राष्ट्रकै आर्थिक समृद्धिको दियो बाल्न परिवारको सदस्यहरूको विदेश पलायनको मोह त्याग्न र परिवारसँगै बसी सँगै रमाउन पाउने बनाउन सकिने वास्तविक सपना बोकी नमुनाको नक्कल गर्न सक्नेछन् र प्रत्यक्ष रूपमा रोजगारका लागि विदेश भौंतारिनु नपर्ने अनि राष्ट्रका लागि पनि कुल गार्हस्थ उत्पादनमा सहयोग पुगी आत्मनिर्भर अर्थतन्त्रको विकास पनि गर्न सकिने दुवै हातमा लड्डु प्राप्त गर्न सकिनेछ ।
संस्थाको सेयर सदस्य एवं कृषकको गोठमा रहेका गाईको पशुधन बिमाका लागि इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी अगाडि बढाइएको छ । जसले गर्दा पशुपालन व्यवसायमा पशुको मृत्यु भई क्षति हँुदा बिमा दाबीले केही राहत र व्यवसाय सञ्चालनमा परिपक्वता र ढुक्क भएको पाइन्छ । कृषि विकास बैंकसँग सहकार्य गरी पशुधन बिमा कार्यक्रम सञ्चालन कार्यविधिबारे छलफल भइरहेको छ । संस्थाले आफ्ना सेयर सदस्यलाई वार्षिक रूपमा करिब सय जना नमुना फार्म, घाँस दाना तथा दूध सहकारी, अन्य व्यवसायीका अनुभव आदानप्रदान गर्न अध्ययन, अवलोकन भ्रमण राख्ने गरेको छ । विभिन्न प्रकारका व्यावसायिक विकासका लागि आफँैले तालिम सञ्चालन गरी कुनै संस्थासँग सहकार्य गरी सदस्यहरूलाई तालिममा पठाएर साथै विभिन्न अवसर खोजेर शिक्षा, तालिम तथा सूचनालाई व्यवस्थित गरेको छ । संस्थामा सुझावपेटिका, सूचना पाटी यस कोरोना भाइरसको महामारीबाट बच्न÷बचाउन सरसफाइ, स्यानिटाइजर, ग्लोब्स, सामाजिक दूरी कायम गरी दूध संकलन गर्ने, संस्थाको सवारीसाधन र वरिपरि स्यानिटाइजेसन गर्ने, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने, नियमित बैठक बस्ने, सामूहिक निर्णय पद्धतिको विकास गर्दै संस्थामा आउनसक्ने द्वन्द्व तथा आपसी असमझदारीलाई सूचना विषयगत सुझाव संकलन तथा पूर्वअध्यक्ष, उपाध्यक्ष एवं व्यावसायिक र प्राविधिकसँंग संस्थाको आवश्यकताअनुसार संस्थाको थप विकास, विस्तार गर्ने अनुभवहरूको केन्द्रीकरण, विज्ञहरूको प्राविधिक सहयोगहरूको समायोजनसहित संस्थाको हालको कार्य अगाडि बढेका छन् । संस्थाको आन्तरिक लेखा ३÷३ महिनामा परीक्षणको व्यवस्थापनसँगै लेखाले दिएका सुझाव निर्णयार्थ पेस गरी कार्यान्वयन गरिएका छन् । सञ्चालक समिति, लेखा समिति, कर्मचारी र कृषकसँगै सरोकारवाला तहगत राज्य संरचनासँग समुचित तालमेल मिलाउँदै उत्कृष्ट परिणामको लागि प्रयत्नहरू अगाडि बढाइएका छन् ।
० के यो संस्था आफ्नो उद्देश्यमा सफल छ ?
– मेरो विचारमा संस्था आफ्नो उद्देश्य पूर्ति गर्नमा केही हदसम्म सफल छ । किनकि सहकारीका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरबाट पारित परिभाषित उद्देश्य तथा कार्यक्रम यस संस्थाले निष्ठासाथ पालना गर्दै आफ्नो स्वतन्त्र स्वयत्तताको अधिकतम उपयोग गरी संस्थाको मानव स्रोत, आर्थिक स्रोत, स्थानीय कञ्चा पदार्थ, आवश्यकीय विज्ञान र प्रविधि, मेसिनरीको प्रयोग गर्दै आर्थिक, साँस्कृतिक, सामाजिक र भौतिक विकासमा निरन्तर लागिरहेकाले केही हदसम्म सफल छ । तर, सफलताका लागि इमान्दारी, पारदर्शी, सिर्जनशील, समायोजनकारी भूमिका अभावले संस्थाको अल्पकालीन तथा दीर्घकालीन कार्यनीति र रणनीति निर्माण अभावले निर्माण भएका योजनाअनुसार सिर्जनशील नभएर तत्परता नदेखाएर जति उद्देश्यले उचाइ हुनुपर्ने हो त्यो भने भएको छैन । संस्थाका उद्देश्य पूरा गर्ने लक्ष्य छन् । आवश्यक प्रयत्न र विधिको निर्माणसँगै पूरा गर्न सकिन्छ र लक्ष्य भेट्न सकिन्छ भन्ने आत्मविश्वास छ ।
० के संस्था सदस्य केन्द्रित छ ?
– अवश्य ! म आफू पनि यो अन्नपूर्र्ण दुग्ध उत्पादक सहकारी संस्थाको ६५ औँ नम्बरको सेयर सदस्य हुँ । हाल म ३६औँ साधारण सभाले चारवर्षे कार्यकालका लागि निर्वाचित भएको छु । तर, म अध्यक्ष वा जोसुकैमा निर्वाचित भए पनि यो अध्यक्ष पदभन्दा सेयर सदस्य पद ठूलो लाग्छ । किनकि एउटा सहकारीको शक्ति पृथकीकरण गर्ने हो भने साधारणसभा सर्वोच्च निकायले जुन सेयर सदस्यहरूको फैसला गर्ने स्थान हो, त्यसपछि कार्यसमिति, कार्यसमितिपछि पदाधिकारी हुन्छ । यो तरिकाले पनि कार्यसमितिका पदाधिकारीले जवाफदेहिता सञ्चालक समिति र अन्त्यमा साधारण सभाले अनुमोदन गर्नै पर्ने कतिपय कुरा हुन्छन् अनि सदस्य केन्द्रित संस्थाका उद्देश्य, कार्यक्रम यदि नभएमा कार्यसमिति, लेखा समिति तथा पदाधिकारी हुन सक्दैन । जुनसुकै संस्थामा पनि उद्देश्यले निर्धारण गरेको सदस्यहरूप्रति अन्तिम जवाफदेहिता नै प्रधान विषय हो । सदस्यहरूको पिर मर्का, सहजीकरण, गुनासो सुनुवाइ, आर्थिक व्यवस्थापन, प्रशासनिक व्यवस्थापन, नीतिगत, निर्णयगत, योजनागत व्यवस्थापनले सदस्यहरूलाई कार्य शैलीमा, जीवन व्यवहारमा, आर्थिक हैसियतमा सजिलो र सहजीकरण गर्दै संस्था सदस्य केन्द्रित रहेको पुष्टि गर्न सकिन्छ ।
० वर्तमानका जटिलताबारे केही बताइदिनुस् न ।
सरकारले खाद्य पदार्थ, दूध, फलफूल, तरकारी, औषधि, पशुआहारजस्ता विषयमा रोक र प्रतिबन्ध लगाएको छैन । दूधकै कुरा गर्दा सरकारले उत्पादन सहकारी, उत्पादन कार्यका क्षेत्र औपचारिक रूपमा रोकेको छैन । तर जब दूध उत्पादन हुन्छ सहकारी संस्था, डिडिसी तथा निजी डेरीले दूध लिइदिनुपर्ने हो । डेरी उद्योग सञ्चालन गर्नुपर्ने हो तर उपभोक्ताको घरमा ताल्चा लगाएर ज्यान बचाउन एकान्तवास बसे, बस्न लगाइयो, बजार, रेष्टुरेन्ट, होटल बन्द भएर त्यहाँका उपभोक्तासम्म दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने व्यक्ति भएनन् । यसरी उत्पादित दूध कति समयसम्म, कति स्टोर क्षमतामा, अनिश्चित भविष्यको खोजीमा कति दिन सुरक्षित राख्न सक्ने कृषकले पालिरहेको गाईले खान छाड्दैन, दूध दुवै छाक दिन छोड्दैन अनि कृषकले लाखौँ हालेर किनेको गाई, भैंसीलाई दाना, चोकर, घाँस, पराल खुवाउनै प¥यो भने दूध बिक्री नभएपछि अनिवार्य रूपमै दूध फाल्नुप¥यो वा नष्ट गर्नुप¥यो र घाटा निःसर्त व्यहोर्नुपरेको तीतो सत्य हो । बजारको चक्र नघुमेसम्म इन्द्रको बाउ चन्द्रे आए पनि यो समस्या समाधान हुन सक्ने देखिँदैन । सरकारले पनि यो समयमा जति संवेदनशीलता भएर उत्पादनशील क्षेत्रको संरक्षण नीति ल्याउनुपर्ने हो त्यो ल्याउन सकेन । विडम्बना भयो न राहत प्याकेज, न विकल्प, न त कुनै उपाय भएका चितवन मिल्क, सुजल डेरी, डिडिसीको पाउडर उद्योग पनि सुचारु गर्न सकेन । दुग्धजन्य पदार्थ पाउडर दूध, नौनी, घ्यू, केही हदसम्म दूधको संरक्षण गर्न सकिन्थ्यो तर कतिपय दिन मिल्क होलिडे नगरे पनि कतिपय दिन पाउडर दूध बनाउन पाइए पनि उत्पादित नौनी तथा पाउडर दूधको स्टोरेज क्षमता पर्याप्त नहुँदा हाम्रोजस्तो दुग्ध सहकारी उद्योग मजदुरलाई तलब भत्ता किसानलाई उचित समयमा भुक्तानी सन्तुलन र लाभांशको हिस्सा दिने कुरा सपनाजस्तै हुन लाग्यो । कोरोना भाइरसको महामारीमा लकडाउन, निषेधाज्ञा, एकान्तवासले क्षतविक्षत अर्थतन्त्रसँग हाम्रो सहकारी पनि अछुतो राख्न सकिएन ।
० दुग्ध क्षेत्रमा के–कस्ता समस्या देख्नुहुन्छ ?
– दुग्ध क्षेत्र भन्नेवित्तिकै मुख्यतया गाई भैंसीपालन व्यवसाय भन्ने बुझिन्छ । दूध उत्पादनका लागि गाई भंैसी मात्र पालेर पुग्दैन । यस क्षेत्रमा गाई भैंसीको उच्च र उन्नत प्रकारको नश्ल व्यवस्थापन, उन्नत नश्लबाट उन्नत बाच्छाबाच्छी, पाडापाडीसँग उन्नत गाई भैंसी उत्पादन हुन्छ । उन्नत जातका गाई भैंसीबाट योजनामुताविक दूध उत्पादन गर्नु हो । त्यो दूधलाई सहकारी, निजी बजार दूध कम्पनी एवं डेरीलाई बिक्री व्यवस्थापन मिलाई उत्पादित दूधको बजारीकरण गरी उचित खर्च कटाएर नाफा लिने र घर व्यवहार सञ्चालन गरी उच्चस्तरीय जीवन जिउने कुरा हुन् । त्यसैले दुग्ध क्षेत्रका मुख्य समस्या उन्नत प्रकारको सिमेन, त्यसलाई प्रयोग गर्ने दक्ष प्राविधिक, पशु आहारमा सन्तुलित दाना, गाईभैंसी बस्ने गोठमा खुला चरणको व्यवस्थापन, उत्पादित दूध, मल, मुत्रको बजारीकरण नै समस्या भएको क्षेत्र हो ।
दूध उत्पादन हुने यो कोरोना भाइरसका कारण बजार बन्द भई उत्पादक, बिक्रेता र उपभोक्ताबीच भेटघाट भई क्रय–विक्रय हुनुपर्नेमा नभएकाले कोरोनाभन्दा अगाडिको अवस्थासम्म पनि भेट्न नसक्नु अहिले मुख्य समस्या हो । कोरोना एवं लकडाउनअगाडि पनि थुप्रै समस्या थिए र हाल ती समस्या अझ बढी बल्झेर गएका छन् । दूध संकलन हुने त्यसको सुरक्षणका लागि सामान्यतया दूध कन्भर्सनमा लग्यो र उत्पादित उत्पादन भै बजार बिक्रीको समस्या, बिक्री नै नभएपछि कृषकलाई भुक्तानीको समस्या, मिल्क होलीडे बाध्यकारी रूपमा हँुदा दूधको वैकल्पिक प्रयोगका लागि तालिम ज्ञानको अभाव भई अमूल्य दूध बिनाकारण मूल्यहीन बनाई मलखादमा गोबरग्यासमा पोख्नुपर्ने पनि समस्या नै हुन् । सँगसँगै दाना, चोकर र औषधोपचारमा पनि थुप्रै समस्या झेल्दै आएको छ । दूध बिक्रीको तालिकामा जब क्रमभंग हुन्छ व्यवस्थापकीय क्षेत्रमा रहेको हामीजस्ता सञ्चालकलाई अक्षमताको आरोप खेप्नुपर्ने, नियत खराब नराखी सिर्जनात्मक तरिकाले व्यवस्थापकीय, प्राविधिकीय भूमिका निर्वाह गर्दा पनि परिस्थिति आफ्नो बहसमा नहँुदा, स्थिति नियन्त्रणबाहिर गएपछि कृषकको गाली गलौज र तिता शब्दबाणलाई बाध्यकारी रूपमा पचाउनुपर्ने र बिग्रेको परिस्थितिलाई सम्हाल्न हजार प्रयत्न गर्नुपर्ने पनि रहे । पार्टीहरूलाई दूध डिपो तोकिएको र सम्झौताअनुसारको समय र रकम भुक्तानी नदिने, कृषकलाई दिएन केही समयपछि भन्न र गर्न नमिल्नेजस्ता समस्या झेल्दै र व्यहोर्दै आएको छ । दूध बिक्रीको तालिका जब गडबड हुन्छ तब कञ्चा दूधमा एसिडिटी वृद्धि भई फाट्ने, बिक्री फिर्ता हुने, विद्युत् मेसिन र प्राविधिक जनशक्तिको कमीका कारण गुणस्तर खस्किएर जाने समस्यासँग पनि मुकाबिला गर्दै अगाडि बढिरहेको छ ।
० समस्या समाधानका लागि संस्थाले कस्ता–कस्ता कदम चालेको छ ?
– वर्तमान कोभिड १९ कोरोना भाइरसले हाम्रो अन्नपूर्र्ण दुग्ध उत्पादक सहकारी संस्थालगायत क्षेत्रमा मात्र होइन, विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ । हाम्रो तर्फबाट दूध बिक्रीको समस्या, मनोबल खस्किएर कार्यक्षेत्र छाड्ने समस्या, दूध संकलनको समस्यालगायतलाई हाम्रो सञ्चालक समितिको बैठक सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कर्ता अपनाउने सकेसम्मका र सुझाइएका सुझाव सल्लाह पालना गर्न, संस्थाको गाडी, मोटर, ड्राइभर, कर्मचारी, भाँडाकँुडा, डेरी वरिपरि भाइरस नियन्त्रणका लागी सिफारिस केमिकल स्प्रे गर्ने व्यवस्थापन, दूध ल्याउने कृषकलाई स्यानिटाइजर स्प्रेको व्यवस्थापन, कर्मचारीलाई सामाजिक दूरी कायम गर्दै मास्क र सुरक्षित रही दूध संकलन, बजार व्यवस्थापन र प्रशासनिक व्यवस्थापनका लागि कुनै पनि दिन र छिनमा उच्च मनोबलका साथ एक दिन पनि कार्यक्षेत्र नछाड्न मनोवैज्ञानिक रूपमा हौसला प्रदान गर्दै प्रतिसञ्चालक, लेखा समिति, सम्पूर्ण कर्मचारीलगायत गाडी ड्राइभर समेतलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ । दूध संकलन गर्दा बिहान बेलुका कृषकलाई कम्तीमा १.५ मिटर दूरी कायम गराई दूध संकलन क्षेत्रमा गोलो घेरा निर्माण गरी पालोमा दूध भर्ने व्यवस्था मिलाइएको छ । संकलित दूधलाई आफ्नै उद्योगबाट अलि बढी बिक्री भएको बेला दैनिक रुटमा बिक्री व्यवस्थापन तथा अलि बढी बजार बन्द हुँदा अल्टरनेटिभ तालिका बनाई बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री व्यवस्थापन मिलाउँदै बढी भएको दूधलाई डिडिसी तथा स्थानीय डेरी पसललाई बिक्री व्यवस्थापन मिलाइएको छ । संस्थामा बढी दूध संकलन हुने तर बजारमा कम दूध बिक्री हुन थालेपछि प्याकेजिङ दूध, दहीबाहेक लुज दूध नौनी, घ्यूको मूल्य नै घटाएर सस्तो दरमा उपभोक्तासम्म पु¥याई बिक्री दर बढाउने प्रयास गरिएको छ । बढी बिक्री गर्ने पसल एवं प्रोप्राइटरलाई विभिन्न प्रकारको अफर दिएर भए पनि बिक्री बढाउने प्रयास गरियो । केही हदसम्म सफल पनि भयाँै ।
संस्थाका कृषकको दूध संकलन नगरी बजार तथा पार्टीहरूलाई बिक्री गर्न नसक्दा दूधलाई कनभर्सनमा लगी नौनीलाई कृषक आफंैलाई १५ लिटर दूध बराबरको १ केजी नौनी लाने नीतिगत निर्णय गर्दा कृषकको दूध घरमा खेर फाल्नु नपर्ने, कृषक आफँै बजार र वितरक बन्ने अवधारणाका साथ निर्णय गरी कार्यान्वयनमा लैजाँदा करिब ५ टन नौनी जेठदेखि साउनसम्म बिक्री भयो र कृषकको उत्पादनलाई खेर जान दिइएन । संस्थामा पाउडर दूध अलि बढी स्टक भएको छ । त्यो करिब ५० लाख जतिको व्यवस्थापन र बिक्री गरियो अझै ५० लाख जतिको बिक्री व्यवस्थापन गर्न बाँकी नै छ । त्यससँगै कहिलेकाहीँ चितवन मिल्क्स, पोखराको सुजल डेरी नचल्दा र पार्टीहरूले समेत दूध लिन नमान्दा, बजारमा दूध खपत गराउन नसक्दा कृषकलाई दुईवटा क्रिम सेपरेटर मेशिन खरिद गरी क्रिम निकालेर आफैँ लैजाने व्यवस्थापन पनि गरियो । पनिर बनाउन सिकाउने र सवारी तथा मिठाईसमेत बनाउन युटुव च्यानल हेरी दूध नफाली दूधको इज्जत गर्दै खेर नफाल्न अगुवा कृषक, व्यावसायिक कृषकलाई सचेतना अभियान पनि सञ्चालन गरियो ।
० यो महामारीले कृषि उत्पादनमा केन्द्रित अर्थतन्त्रलाई कस्तो असर पार्ला ?
– कोभिड १९ को महामारीले कृषि उत्पादनमा केही असर पु¥याएको छ । जस्तै रासायनिक मलको अभाव, उन्नत बिउको अभाव र यान्त्रीकरणको समस्या त छँदै छ तर अहिले लकडाउन र निषेधाज्ञामा साथै एकान्तवासको कारण देशभरिका कृषकका छोराछोरी, परिवारजन आफ्नो परिवारमा केन्द्रित भएर बसेकाले बाँझोे खेतबारीको पुनः जोतखन गरी खेतीयोग्य जमिनमा कृषि कर्म बढेको पाइएको छ । अन्य क्षेत्र यातायात, होटल, रेष्टुरेष्ट, उद्योगधन्दा भन्दा कृषि तथा पशुपालन क्षेत्र केही राम्रो अवस्थामा छन् । महामारीले कृषि क्षेत्रको अर्थतन्त्रलाई सन्देशका रूपमा अब्बल क्षेत्रको रूपमा रहेको मनोविज्ञानमा परेको छ । कृषि उत्पादनमा मानवीय आवश्यकताअनुसारका क्षेत्रको वैज्ञानिक आविष्कार उद्योग र मेशिनरीले वायुमण्डलमा अधिक कार्बनडाइअक्साइड फालेर प्रदूषित पारिरहेको अवस्थामा यो ६ महिनाजतिको कलकारखाना बन्द, प्रदूषण बन्दको कारण प्राकृतिक वातावरण राम्रो भएको अनुभूति गर्न सकिन्छ । यो महामारीले सिकाएको नकारात्मक तत्वलाई छाड्ने र सकारात्मक प्रभावबारे गहन चिन्तन, मनन गर्दै कृषि उत्पादनमा जोड दिने रणनीति तयार गरी अगाडि बढ्ने हो भने अपार अवसर देख्न सकिन्छ । यसलाई अवसरका रूपमा लिने हो भने लाखौँ युवाले कृषि क्षेत्रमा भविष्य देख्न खोजिरहेका छन् ती मानव स्रोतलाई राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा बदल्न यो अवसरको सहयोग गर्ने नीति निर्माता र सरकार लागेकोमा कृषि क्षेत्रको अर्थतन्त्र तीव्र गतिमा वृद्धि र विकासमा जाने देखिन्छ । चुनौती छन् । त्यसलाई कृषि क्षेत्रमा चाहिने प्राविधिक, दक्ष मानव जनशक्तिसँगै पुँजीगत व्यवस्थापन मिलाउने कुरा चुनौतीपूर्ण अवस्था छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS