बुटवल । प्रदेश सरकार गठनको ३० महिनासम्म राजनीतिक दाउपेच र प्रतिष्ठाका लडाइँले थाती प्रदेश ५ को नाम र स्थायी राजधानी मंगलबार टुंगिएको छ । प्रदेश सभाले औपचारिक रूपमा नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको हो । प्रदेश ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत, सोमबार प्रदेशसभामा उपद्रो मच्चाएको विपक्षी कांग्रेसले गत मंगलबारको मतदानमा भने शान्तिपूर्वक सहभागिता जनाए पनि सरकारले दुईतिहाइ मतको दम्भले गलत निर्णय गरेको आरोप लगाएको छ ।
मतदानलगत्तै प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । यद्यपि, नाम र राजधानी टुंग्याउने विषयमा सर्वसम्मत हुन नसकेतापनि सरकारको प्रस्तावमा कांग्रेसले औपचारिक रूपमा असहमति राखे पनि राजधानीको पक्षमा उसका पाँच सांसदले मतदान गरेको थियो ।
राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसे भने कुल ८७ सदस्य रहेको प्रदेश सभामा सभामुख घर्ती र कांग्रेसका प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएनन् । संसद् सचिवालयका प्रवक्ता श्याम श्रेष्ठले ८६ जना सांसदको हाजिरी रहेको र हमाल अनुपस्थित रहेका थिए ।
प्रदेश ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्तावमा भएको मतदानमा पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । राजधानीका पक्षमा सभामुखबाहेक नेकपाका ६०, कांग्रेसका पाँच र समाजवादी पार्टीका चार मत परेका छन् । सभामुखसहित नेकपाका ६१ सांसद छन् ।
पार्टीले राजधानीका विषयमा प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरे पनि कांग्रेसका पाँच सांसदले ह्विप उल्लंघन गरे । प्रदेशको पश्चिम क्षेत्रका सांसदहरू डिल्लीबहादुर चौधरी, भुवनेश्वर चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी र मोहम्मद याकुब अन्सारीले पार्टी ह्विप उल्लंघन गर्दै सरकारको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसरी अब प्रदेश नम्बर ५ स्थित बुटवल भैरहवा करिडोर वित्तीय तथा रुपन्देही, कपिलवस्तु र नवलपरासी सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS