प्रतिनिधिसभाको सदस्यमा मोरङ जिल्लाबाट नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गरेका लालबाबु पण्डित पहिलोपटक सामान्य प्रशासन मन्त्री हुँदा डिभी र पिआरधारी कर्मचारीमाथि निर्मम कारवाहीका कारण निकै चर्चामा आए । ०७४ सालमा गठन भएको केपी ओली सरकारमा पनि उनी त्यही मन्त्रालय सम्हाल्न पुगे । तर, पहिलो पुनर्गठनमै उनलाई हटाइयो । यसचोटि फेरि मन्त्री बन्छन् कि भन्ने अनुमान पनि छ ।
यिनै विषयमा पूर्वमन्त्री पण्डितसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० मन्त्रीमण्डल पुनर्गठनको चर्चा छ ? पहिला हटाइएको कारण यसचोटि आश छ कि ?
– यो प्रणालीलाई संसदीय प्रणाली भनिन्छ । यस्तोमा प्रधानमन्त्रीसँग बढी अधिकार हुन्छ । आफूलाई विश्वास गरेका व्यक्तिलाई राख्ने वा परिवर्तन गर्ने भन्ने कुरा प्रधानमन्त्रीकै क्षेत्राधिकारमा पर्ने हो । त्यसैले उहाँको क्षेत्राधिकारमा परेको विषयमा मेरो रुची या चाहनाको कुनै अर्थ हुँदैन । म पार्टीले दिने जिम्मेवारी सधैँ निर्वाह गरिरहेको मान्छे भएकोले पार्टीले जिम्मेवारी दिएमा कुनै पनि कामका लागि तयार छु ।
० पहिला अन्यायपूर्वक हटाइयो नि, हैन ?
– हामीले गर्ने विश्वास हो कि, बहुदलीय प्रणालीमा प्रधानमन्त्रीले पार्टीभित्र आवश्यक छलफल गरेर मन्त्रीमण्डलको पुनर्गठन गर्नुहुन्छ । हामीले विश्वास गरेका कुरा प्रधानमन्त्रीले कति गनुभयो, कति गर्नुभएन, त्यो त समयले देखाइहाल्छ ।
पहिलो कुरा त, मन्त्रीमण्डल हेरफेरलाई सामान्य रुपमा लिनुपर्छ । जहाँसम्म अपराधपूर्ण, कानुनविपरित काम कसैले गरेको छ भने उनीहरुलाई हटाउनुपर्छ ।
० तपाईंहरुको कार्यकालमा त कार्यसम्पादन सम्झौता नै गरिएको हैन ?
– हो, हाम्रो कार्यकालमा प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौता गराउनु भएको थियो । अहिलेका मन्त्रीहरुसँग गर्नुभयो कि भएन भन्ने कुरा मलाई थाहा छैन । कार्यसम्पादन सम्झौता गराइसकेपछि त्यो सम्झौताअनुरुप परिणाम आयो वा आएन ? यदि परिणाम आएको हो भने त्यही आधारमा पुनर्गठन गर्नु राम्रो कुरा हो । राम्रो परिणाम दिइरहेकालाई हटाएर कमजोर काम गर्ने क्षमता, कार्यकुशलता र निर्णय प्रक्रिया कमजोर रहेकाहरुलाई निरन्तरता दिनु पर्छ भन्ने मलाई लाग्दैन ।
मेरो सन्दर्भमा प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । क त्यो रिपोर्टले मलाई असफल भन्छ त ? तर, कार्यसम्पादनमा फेल भएका मन्त्रीहरु सरकारमा टिके, हामी हटाइयौँ । तपाईं हेर्दै जानुस्, फेल हुनेहरुलाई बोक्नेहरुले एकदिन पछुताउने छन् † यदि मान्यता नदिने भए कार्यसम्पादन मूल्यांकन किन गरेको ? कार्य कुशलता र कार्य जटिलताअनुसार भएको कामलाई राम्ररी विश्लेषण गरिएन । एउटै पार्टीमा भएपछि को कोसँग नजिक, को कोसँग टाढा ? यस्तो प्रश्न आउँदैन । कसैको मनभित्र पार्टीका गुट र उपगुट होलान् । तर आममानिसले खोज्ने त परिणाम हो, अनुहार होइन ।
० प्रधानमन्त्री आफूखुशी निर्णय गर्नुहुन्छ भन्ने आरोप छ नि ?
– यो प्रणाली नै प्रधानमन्त्रीय हो । यस्तो भएपछि मन्त्रीहरुको असहमतिका बीचमा पनि निर्णय हुन सक्छन् । मन्त्रीहरुले दिने भनेको त राय, सुझावमात्रै हो । अहिलेका कतिपय मन्त्री विन्दास पाराका छन् । उनीहरुले न विषयबस्तु बुझेका छन्, न मन्त्री पदको गरिमा नै ।
० के यो शैलीमा पार्टी सफल होला ?
– जस्तो काम गरेको छ, त्यस्तै परिणाम आउँछ । नराम्रो काम गरेर राम्रो परिणामको आश गर्नु हुँदैन । खराब इञ्जिन भएको जहाज उड्न लाग्यो भने के हुन्छ ? कहीँ–कतै ल्याण्ङि सही तरिकाले हुँदैन । दुर्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट पनि कुशल, इञ्जिन असल होस्, अनि यात्रुहरु अनुशासित हुन् ।
० यो सरकारले आफ्नो घोषणापत्रभित्र उल्लेख गरेका के–के काम गरेको छ ?
– काम त यो सरकारले अहिले पनि गरिरहेकै छ । जम्मा आधा समयमात्र बित्यो । अहिले हामी कोभिड महामारीको विश्वव्यापी संकटमा छौँ । त्यसैले जनताको बीचमा गएर मूल्यांकन गरिहाल्ने अबस्था आएको छैन । जनताले चाहिँ सरकारको कार्यशैलीबारेमा प्रश्न उठाइरहेका छन् । ती प्रश्नहरुको जबाफ पार्टीको नेतृत्वले समय समयमा दिइराख्नु पर्छ । होइन भने, एकैपटक जनतामा आक्रोश भएको समयमा जाँदा हामी आवधिक निर्वाचनमार्फत आउने र जाने भएका कारण चुनावको समयमा जनतामाझ जाँदा अघिल्लोपटक जनतामाझ गरेका वाचा पूरा भएको सन्देश पूरा भएको हिसाबले जानु उपयुक्त हुन्छ ।
० पार्टीभित्रको विवाद कहाँ पुग्यो ?
– हाम्रो पार्टी राजनीतिक र सैद्धान्तिक रुपमा एउटा गतिशील पार्टी हो । यस्तो पार्टीमा थरिथरिका कुरा उठ्छन् । प्रश्न उठेपछि उसले सामाधानको बाटो पनि सँगै लिएर आएको हुन्छ । हाम्रो शरीरमा पनि कहिलेकाहीँ जिऊ चिलाउँछ, पसिना आउँछ त्यसपछि हामी नुहाउँछौं । त्यसपछि चिलाउन छोड्छ । घाउ–खटिरा आउँदा औषधोपचार गरेपछि निको हुन्छ । अलि धेरै नै भयो भने चिरफार गर्नुपर्ने अवस्था आउँछ । त्यसकारण यो जीवन्त पार्टीमा यस्ता कुरा उठ्छन् । जसरी शरीर जीवन्त छ, पार्टी पनि जीवन्त छ र यस्ता कुरा उठ्छन् । हामी अध्यात्मवादी त होइनौ,ं द्वन्द्वात्मक भौतिकवाद मान्ने प¥यौँ । ठीक र बेठकीको द्वन्द्वबाटै समाज अघि बढ्ने हो । ऋृणात्मक र धनात्मक मिलेपछि न विजुली बत्ति बल्छ । प्रश्न उठ्नु नै समाप्ति होइन । यसको उपचार खोजेको हो ।
० के समयमा पार्टीको महाधिवेशन सम्भव छ ?
– यदि अहिले चलिरहेको कोभिड– १९ को महामारीले धेरै दुःख दिएन भने महाधिवेशन गर्न सम्भव छ । पार्टी संगठन निर्माण, कमिटीहरुको एकताका काम हामीले समयमा टुंग्याउनुपर्छ । त्यसो भएमा महाधिवेशन समयमै हुन पनि सक्छ ।
० तपाईं मन्त्रीबाट हट्नासाथ संघीय निजामति ऐन तोडमोड गर्ने काम भइरहेको कुरा सुन्नुभएको छैन ?
– म मन्त्री हुँदा ऐन बनाएर कानुनसम्मत ढंगबाट कर्मचारीको समायोजन गरियो । यदि कसैलाई त्यसमाथि चित्त बुझेन भने त्यो अर्कै कुरा हो । तर, ऐन, संविधानविपरित काम गर्ने छुट कसैलाई छैन । कसैले त्यो काम गर्छ भने भविष्यमा पनि दण्डित हुनुपर्ने स्थिति हुनसक्छ भन्ने कुरा बुझ्नुपर्छ । टुंगिसकेको विषयलाई गिजोल्न थाल्नुभयोे भने त्यसको जिम्मेवारी सम्बन्धित मन्त्री वा मन्त्रालय र सचिवले लिनुपर्छ । प्रधानमन्त्रीले नै चाहनुभयो भने मैले भन्ने ठाउँ कुनै छैन । मन्त्रिपरिषद्ले जे कुरा टुंग्याएर पठायो, मन्त्री र सचिव परिवर्तन हुनासाथ मूल नीति परिवर्तन हुँदैन । यदि हुन्छ भने त्यो दण्डनीय हुन्छ । मैले २०७५ सालको माघ १० गते नै ऐन लिएर गएको हो । विभिन्न मन्त्रालयमा छलफल गर्दै परिपक्व बनाउँदै लग्नुपर्ने भएका कारणले अलि समय लागेको हो । एक वा दुईबाहेक अरु सबै कुरा टुंगिएको स्थिति थियो । झण्डै प्रतिनिधिसभामा जाने स्थिति भएको ऐनलाई नयाँ मन्त्रीले बल्झाउन र पारित भइसकेको, सहमति भइसकेको ऐनलाई आफ्नो जिम्मेवारी र जवाफदेही नलिई बिथोल्ने काम भएको छ । यसप्रति दुःख लाग्छ । ढिलो भएकोमा पनि दुःख लाग्छ । अहिले यो मेरो जिम्मेवारीभित्र नभएको कारण जसको जिम्मेवारीभित्र छ, उसैले जिम्मेवारी लिनुपर्छ । संघीय निजामती सेवा ऐन मातृऐनका रुपमा रहेको छ । यही ऐन समयमा नआउँदा प्रदेश र स्थानीय तहकै ऐन रोकिएको र संघीयता कार्यन्वयनको सन्दर्भमा सम्बन्धित मन्त्रीले गति लिएर नलागेको कारण संघीयतामाथि प्रश्न उठ्न थालिसकेको छ । यस्ले भोलि ल्याउने दुःखद् परिणामको जिम्मेवारी पनि सम्बन्धित मन्त्रीले नै लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS