काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै अर्का संक्रमितमा पनि यो थेरापी गर्ने तयारी थालिएको छ । त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट सफलतापूर्वक उपचार गरेको हो । शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका अनुसार प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको पाइएको छ ।
यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ । शिष्ट उपचारबाट कुनै सुधार नदेखिएपछि कोभिड व्यवस्थापन समितिले प्लाज्मा थेरापी गर्ने निर्णय गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर बिरामीको उपचारमा उपयोग हुने प्लाज्माको व्यवस्था गरिएको थियो ।
सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तयारी अवस्थामा छन । यसरी यो थेरापी शुरु गरेका अस्पतालहरुमा धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । यस्तै कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा पनि यो सेवा शुरु गर्ने तयारीमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS